काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आज (आइतबार) संविधानको धारा ७६ को २ अन्तर्गत प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त प्रधानमन्त्री ओलीले भोलि (सोमबार) बिहान ११ बजे शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिनुहुनेछ ।
संसद्को ठुलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओलीले शुक्रबार राति सवा ९ बजे राष्ट्रपति समक्ष संविधानको धारा ७६ को २ बमोजिम प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । चौथोपटक प्रधानमन्त्री बन्नुभएका ओलीलाई राष्ट्रपति पौडेलले सोमबार शपथग्रहण गराउनुहुने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
नयाँ सरकारमा नेपाली कांग्रेसले उपप्रधानमन्त्रीसहित १० वटा मन्त्रालय र एमालेले प्रधानमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गर्ने टुंगो लागिसकेको छ । तर, अन्य दललाई समेत सहभागी गराउनुपर्ने भएकाले मन्त्रालयको संख्या थपघट हुन सक्ने एमालेले जनाएको छ । कांग्रेसका तर्फबाट सरकारको नेतृत्व प्रकाशमान सिंहले गर्नुहुने र उहाँले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयको जिम्मेवारी सम्हाल्नु हुने लगभग टुंगो लागेको छ ।
त्यस्तै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री बन्ने निश्चितजस्तै छ । कांग्रेसका तर्फबाट आरजु राणा देउवा, जीवन परियार, रामहरि खतिवडा, चन्द्र भण्डारी तथा अजय चौरसियालाई मन्त्री बनाउने विषयमा पनि छलफल चलिरहेको जनाइएको छ ।
एमालेका तर्फबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा पार्टी उपाध्यक्ष विष्णु पौडेलको नाम निश्चित भइसकेको नेताहरुले दाबी गरेका छन् । प्रधानमन्त्री सहित ९ वटा मन्त्रालय पाएको एमालेमा मन्त्रीको टुंगो लगाउने जिम्मा भने अध्यक्ष ओलीलाई दिइएको छ ।
भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७