
किसान सहकारीको निर्णय प्रमाणिकरण भेला सम्पन्न, १४ करोड बढि खुद नाफा
लम्की – कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित देशकै नमूना सहकारीमध्ये एक किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको निर्णय प्रमाणिकरण भेला शनिबार सम्पन्न भएको छ । लम्की जेसीज हलमा सम्पन्न भेलामा सहकारीको आर्थिक प्रगति, संस्थागत विकास र आगामी कार्यदिशाबारे छलफल गरिएको छ ।
भेलाको उद्घाटन सत्रमा बोल्दै सहकारीका संस्थापक तथा प्रमुख अतिथि मंगल बहादुर शाहले सहकारी स्थापना कालको स्मरण गर्दै किसान सहकारी अपेक्षा गरिएकोभन्दा धेरै अगाडि बढ्न सफल भएको बताए ।
‘सदस्यहरूको विश्वास, इमानदार नेतृत्व र सामूहिक प्रयासले किसान सहकारीलाई देशकै नमूना संस्थामध्ये एक बनाएको छ,’ शाहले भने । उनले सहकारीले आगामी दिनमा पनि सदस्य हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।
आर्थिक वर्ष २०८१/०८२ मा १४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको जानकारी दिँदै सहकारीका अध्यक्ष सुरेन्द्र कुमार शाहले किसान सहकारी ३० वर्ष पूरा गरी ३१औँ वर्षमा प्रवेश गरेको बताए ।

‘आजको सफलता शेयर सदस्य, ग्राहक, कर्मचारी, पूर्व सञ्चालक समिति र सम्पूर्ण समुदायको योगदानको परिणाम हो,’ अध्यक्ष शाहले भने । उनले पारदर्शिता, सुशासन र प्रविधिमैत्री सेवामा जोड दिँदै सहकारीलाई अझ बलियो बनाइने बताए ।
त्यसैगरी सहकारीको कुल सम्पत्ति ६ अर्ब ५१ करोड रुपैयाँ पुगेको जानकारी दिँदै महाप्रबन्धक डम्बर बहादुर शाहले कठिन समयहरूमा पनि शेयर सदस्यले देखाएको विश्वासकै कारण सहकारी निरन्तर अघि बढ्न सफल भएको बताए ।
उनले आगामी दिनमा सहकारीलाई थप सुदृढ बनाउँदै समुदायसँग सहकार्य गरी समृद्धि तथा वातावरण संरक्षणका क्षेत्रमा समेत योगदान विस्तार गरिने जानकारी दिए ।
भेलामा लेखा सुपरीवेक्षण समितिका संयोजक नृप बहादुर कुँवरले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै किसानलाई आत्मनिर्भर बनाउने अभियानमा योगदान पुयाउने सबै पक्षप्रति आभार व्यक्त गरे ।
त्यस्तै भेलामा उपस्थित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको थप प्रगति, स्थायित्व र उन्नतिका लागि शुभकामना व्यक्त गरेका थिए ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७