
लम्की – ३ विधेयक पारित गर्दै जानकी गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न
कैलालीको जानकी गाउँपालिकाको पुस २१ गतेबाट सुरु भएको हिउँदे अधिवेशन हिँजो २३ गते बुधबार सम्पन्न भएको छ ।
गाउँपालिकाको हिउँदे अधिवेशनले पालिकाका प्रवाह हुने सेवालाई छिटो छरितो बनाउन, पालिकाका निर्णयहरूलाई कार्यान्वयन गराउन र विकास निर्माणको कामलाई प्रभावकारी गर्ने उदेश्यले तीन वटा विधेयक पास गरेको हो ।
पन्ध्रऔं गाउँ सभाको पहिलो सत्र पुस २१ गते भएको थियो । उक्त सत्रमा विधायन समितिका संयोजक सुरेश कुमार चौधरीले गाउँपालिकाको नगर प्रहरी विधेयक, २०८१, जानकी गाउँपालिकामा रहेका बरघर/ भल्मन्सा प्रणाली संरक्षण, प्रवद्र्धन र विकास गर्न बनेको विधेयक, २०८१, र स्थानीय बजार व्यवस्थापन तथा अनुगमन विधेयक, २०८१ छलफलका लागि पेश गरेका थिए ।
गाउँ सभाका सदस्यहरूले दिएका सुझावलाई समेट्दै बुधबार बसेको दोस्रो सत्रमा ती विधेयकहरू पारित गरिएका हुन् । गाउँपालिकाका अध्यक्षद्वारा प्रमाणिकरण भएपछि ती विधेयकहरू कार्यान्वयनमा आउने छन्।
हिउँदे अधिवेशनले विधेयक पारित गर्नुका साथै अन्य महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ । गाउँ सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सूचीकृत भएका मेलमिलापकर्ताहरूको सूची अनुमोदन गरेको छ भने, हालसम्म नियमित गर्नुपर्ने बेरुजुहरूमाथि छलफल गरी ती बेरुजुहरू नियमित गर्ने निर्णय पनि पारित गरेको छ ।
गाउँपालिकाले पारित गरेका यी विधेयकहरू कार्यान्वयनमा आएपछि स्थानीय प्रशासन र सेवा प्रवाहमा उल्लेखनीय सुधार आउने विश्वास जानकी गाउँपालिकाको छ ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७