थारु समुदायको ‘ढकिया’ लोप हुने खतरामा ! सीप सिकाउने छैन कोही
लम्की बजार चौराहको दक्षिणतर्फ एउटा थान कपडाको पसल छ । विक्रीका लागि राखेका थान कपडाका वण्डल र सिलाईका समानले सजिएको पसलमा रंगीचंगी मुज र बाँसका काँटीले ढकिया बुन्दैछिन् ५५ वर्षिया असर्फि चौधरी । उनको वरिपरि कपडा र सिलाइका सामानहरूको थुप्रो छ, तर उनको ध्यान भने ढकियाको जटिल डिजाइनमा केन्द्रित छ । अहिले पनि यो कला जोगाउन निरन्तर लागिपरेकी छन् तर, नयाँ पुस्तामा यो सीपको पुस्तान्तरण नहुँदा उनलाई चिन्ताले सताएको छ ।
असर्फी लम्कीचुहा नगरपालिका वडा नं. २ की पूर्व वडा सदस्य पनि हुन् । उनले यो ढकिया बुन्ने कला आफ्नी आमाबाट सिकेकी हुन् । “सानैदेखि आमालाई हेरेर सिकेँ । आमाले मनै लोभ्याउने रंगीचंगी ढकीया, छिटवा, गैजा बनाएको देख्दा आफूलाई पनि त्यस्तै बनाउन मन लाग्ने गथ्र्यो । त्यसैले आमाले जसरी जसरी हात चलाउनु हुन्थयो, मैले पनि त्यसैरी नै हात चलाउँदै गए र, आमाबाट नै मैले ढकिया बनाउन सिके ।’ थारु समुदायमा ढकियाको प्रयोग पुजाआजा गर्ने शुभकार्यदेखि लिएर चामल, गहुँ जस्ता अन्न राख्न र विवाह भोजमा दाइजो दिन, मृत्युवरणको बेला दानको रुपमा ढकिया दिनेसम्म हुने गर्दछ । आजभोली कुनै औपचारिक कार्यक्रम भएमा अतिथिको स्वागतका लागि यसको प्रयोग गर्नुका साथै अतिथिलाई उपहारका रुपमा ‘ढकिया’ दिने चलन पनि रहँदै आएको छ । यसमा कलात्मक तरिकाले सूर्य, चन्द्रमा, फूलजस्ता डिजाइन बनाइन्छ, जसले ढकियालाई आर्कषक बनाउछ । ‘हाम्रा पुर्खाले यो कला हामीलाई सिकाए । यो हाम्रो संस्कृति र इतिहासको हिस्सा हो,” चौधरीले थपिन् ।
विवाह गरी आउने महिला कत्तिको सिपालु छन् भन्ने कुरा ढकियाबाट थाहा हुने कुरा लम्कीचुहाकी नगर उपप्रमुख जुना चौधरी स्मरण गर्छिन् ।
‘विवाह गर्नु अघि दुलाहा पक्ष र दुलही पक्षले एकअर्को परिवारलाई कोसेली साट्थे । दुलाहा पक्षबाट हाते पंखा, सुप्पा लगायतका सामग्री दुलहीको घरमा पठाइन्थ्यो, परिवारको आकार अनुसार,’ नगर उपप्रमुख चौधरीले भनिन्, ‘त्यसैगरी, दुलाहा परिवारको आकार अनुसार दुलहीको घरबाट ढकिया लगिने चलन थियो। त्यही ढकियाको बुनाइबाट आउने दुलही कत्तिको सीपालु छिन् भन्ने कुरा थाहा हुन्थ्यो ।’
यसरी थारू समुदायको जीवनशैली जोडिएको ढकिया बनाउने कला अहिले यो हराउने जोखिममा छ । जातीय पहिचान बोकेका थारू समुदायको ढकिया, गैजा र छिटवा लगायतका बनाउने सीप एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण नहुँदा पहिचान पनि गुम्ने सम्भावना रहेको कुरा जनसेवा माध्यामिक विद्यालयका प्राधानाध्यापक मित्रलाल चौधरी औल्यौछन् । ‘हरेक जातजातीको पहिचान झल्कने आफ्नै हस्तकला हुन्छन् । हस्तकला जातजातीका पहिचान सहितको गहना पनि हुन् । वस्तुकला र सीपको पुस्ता हस्तान्तरण नभएको जताजातीको अवस्थमा पहिचान गुम्ने खतरा पनि छ हुन्छ ।’
आधुनिकताको प्रभाव र नयाँ पुस्ताको बेवास्ताले यो कला संकटमा परेको छ । चौधरीका अनुसार, अहिले गाउँमा ढकिया बुन्न जान्नेहरूको संख्या निकै कम छ । ‘गाउँका युवाहरूलाई सिकाउन खोजेँ, तर उनीहरूको ध्यान मोबाइल र आधुनिक काममा छ । ढकिया बनाउन समय र धैर्यता चाहिन्छ, जुन उनीहरूसँग छैन,’ असर्फीले दुखेसो पोखिन् ।
वनमा पाइने बाँस र मुज घाँसबाट ढकिया निर्माण गरिन्छ । एकातर्फ ढकिया, पथिया, ढकुली जस्ता पहिचान बोकेका सामाग्री तयार गर्न सीसँगसँगै धेरै समय पनि लाग्छ भने, अर्कोतर्फ त्यसबाट हुने आय भने न्यून छ । जसका कारण आधुनिक जीवनशैलीमा रमाउने नयाँ पुस्ताका युवाहरू परम्परागत सीपभन्दा रोजगारीका अन्य अवसरहरू खोज्ने गर्ने गरेको थारू अगुवाको बुझाइ रहेको छ ।
नयाँ पुस्ता शिक्षा तथा प्रविधितर्फ मात्रै बढी ध्यान दिने तर आफ्नो पहिचान जोगाउनतर्फ कम ध्यान दिइने गरिएको छ । नयाँ पुस्तालाई ढकियाको महत्व बुझाएर ढकिया निर्माण गर्नतर्फ प्रेरित गर्नुपर्ने प्रधानाध्यापक मित्रलाल चौधरीको तर्क छ ।
त्यस्तै थारू कला, साहित्य र संस्कृतिको प्रतीकका रुपमा रहेको ढकियालाई व्यावसायिक स्वरुप दिनुपर्ने असर्फी चौधरीको भनाइ रहेको छ । साथै चौधरीले कला जोगाउन यदि सरकारले ध्यान नदिएमा हराएर जाने चेतावनी पनि दिइन् ।
‘यो कला जोगाउन सरकारी र गैरसरकारी निकायको सहयोग आवश्यक छ । यसलाई व्यवसायिक स्वरुप दिएर आयआर्जनसँग जोडिनु पर्छ, असर्फीले भनिन् ‘यदि सरकारले हस्तकला प्रदर्शनी, तालिम र बजार व्यवस्थापनमा सहयोग गर्छ भने यो कला बाँच्न सक्छ । नत्र यो हराएर जान्छ,”
असर्फी चौधरी जस्ता व्यक्तिहरूको प्रयासले अहिलेसम्म ढकिया जीवित छ, तर यो कला लोप हुने जोखिमबाट जोगाउन ठोस कदम चाल्नुपर्ने देखिन्छ । थारु समुदायको यो अमूल्य सम्पदा जोगाउन नयाँ पुस्तालाई प्रेरित गर्नु आजको आवश्यकता हो ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७