बाघ गाउँ पस्ने थालेपछी किसान हैरान, मोहन्यालका ९ बाख्रा मारिए

Spread the love

*बाघ गाउँ पस्ने थालेपछी किसान हैरान, मोहन्यालका ९ बाख्रा मारिए*

भरत रिमाल 

लम्की/ बैशाख ४. कैलालीको मोहन्याल गाउँपालिका–३, भत्कुरीमा बाघले एक किसानको ९ वटा बाख्रा मारेको छ । स्थानीय हरि प्रसाद देवकोटा अनुसार कमल भण्डारीको खोरमा रहेका ९ बाख्रालाई बाघले बुधवार राती मारेको हो । आज (बिहीवार) बाख्रा चराउन बिहाना ६ बजे खोरमा पुगेपछि मात्रै बाघले बाख्रा मारेको कुरा थाहा पाएको हरि प्रसाद देवकोटा बताउँछन् ।

पछिल्लो समय भत्कुरीमा बाघले बाख्रा मारिरहको छ । ‘बाख्रा चराउन जंगलमा चराउन लगेका एकेन्द्र थापाका तीनवटा बाख्रालाई फागुनमा बाघले आफ्नो शिकार बनाएको थियो । त्यस्तै अस्ती नयाँको वर्षको दिनमै मंगल बहादुर थापाको बयस्क खसी खाएको थियो । हिजो मात्रै कमल भण्डारीको खोरमै पुगेर मारेको छ । गाईबस्तुलाई तर्साउने काम त बाघले दिनकै गर्दै आएको छ ।’, स्थानीय देवकोटाले भने ।

त्यस्तै देवकोटा बाघ गाउँघरको आसपास दैनिक बाघ देखिने गरेको त्रासको माहोल रहेको बताए । ‘बजार तिर जान डेढ घण्टाको जंगलको बाटो हिँड्नै पर्छ । एक्लै जान सकिदैन । दिनकै बाघ देखिने भएकाले निकै डर । पहिला हामी बाख्रा चराउन जंगल जान्थ्यौँ, अहिले आफ्नै बारीकान्ला चराउँछौँ ।’ उनले सुनाए ।

यता मोहन्याल गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्याय(हिमशिखर’ पालिकाले बाघ सम्बन्धिको समस्यालाई गम्भीर रुपमा लिएको बताउँछन् ।

‘बाघ आंतक मोहन्याल गाउँपलिकामा दिन प्रतिदिन बढ्दै गएको छ । यसलाई हामीले गम्भीरताका साथ लगेका छौँ ।’ गाउँपालिका अध्यक्ष हिमशिखले भने, ‘बाघ नियण्त्रण र संरक्षण गर्ने अधिकारी हामीसँग छैन्, त्यसैले सम्बन्धित निकायमा निरन्तर पत्र पठाएका छौँ । कुनै जवाफ भने आएको छैन् ।’

*किन मानव वस्तीमा पुग्छ बाघ ?* 

बाघ मानव वस्तीमै पुग्नको कारणमा बाघको संख्या वृद्धि हुनु, आहारा प्रजातिमा कमी, बास स्थान असुरक्षित हुनु, बन विनाश र विकास निर्माणका काम वातावरणमैत्री नहुनु रहेको कारण वन संरक्षणकर्मी ममता रावल औँल्याउँछिन् ।

नेपालमा अहिले ३५५ भन्दा बढी वयस्क बाघ छन्, जुन सन् २०१० को तुलनामा करिब तीन गुणा धेरै हो। बाघको संख्या बढ्नु भनेको मा ठूलो सफलता हो, तर यसको अर्को पाटो पनि छ — बाघको मुख्य आहार प्रजातिहरू, जस्तै चित्तल, बँदेल, र नीलगाई भने त्यति नै अनुपातमा बढ्न सकेनन् । ‘बाघ त बढे, तर खाने कुरा भने घट्दै गए,’ वन संरक्षणकर्मी ममता रावल भन्छिन्, ‘आहार कम भएपछि बाघहरू भोक मेट्न गाउँतिर झर्न थालेका छन् ।’ ममता भन्छिन्, ‘त्यो मात्रै होइन, हामीले विकास निर्माण गर्दा वातावरणमैत्री दृष्टिकोण अपनाएका छैनौं । सडक, भवन, बाँध र अन्य संरचनाले बाघको बासस्थान टुक्र्याइदिएको छ । जङ्गल उजाडिँदै गएपछि, बाघहरूलाई आफू सुरक्षित महसुस हुने ठाउँ नै हराउँदै गएको छ । जब बाघलाई जंगलमै असुरक्षित लाग्छ, तब उनीहरू मानव बस्ती नजिक पुग्न थाल्छन् ।’

*बाघलाई मानव वस्तीमा पुग्नबाट कसरी रोक्न सकिन्छ ?*

संरक्षणकर्मी ममता रावलले यो मानव र वन्यजन्तुबीचको यो द्वन्द्व भएकाले यसलाई त्यसरी नै समाधान गर्नुपर्छ बताउँछन् ।

‘हामीले जंगललाई बाघमैत्री बनाउनुपर्छ । त्यसका लागि, जंगल वरिपरि सुरक्षित जैविक मार्ग बनाउनु जरूरी छ, जसबाट बाघहरू सजिलै एक जंगलबाट अर्को जंगलमा हिँड्न सकून् । यस्तो व्यवस्था हुँदा उनीहरू गाउँ पस्नुपर्ने आवश्यकता कम हुन्छ ।’ त्यस्तै, बाघले खाने जनावर—जस्तै चित्तल, बँदेल, नीलगाईको संख्या बढाउनेतर्फ पनि ध्यान दिनुपर्ने, आहार पर्याप्त भए बाघ पनि आफ्नो क्षेत्रमा सन्तुष्ट रहन्छन् । र, सबैभन्दा महत्वूर्ण कुरा स्थानीय बासिन्दालाई संरक्षणमा सहभागी बनाउनु पर्छ । उनीहरूले भोग्ने क्षतिको उचित क्षतिपूर्ति दिनु, जनचेतना फैलाउनु र उनीहरूकै साथ लिएर काम गर्नु दीर्घकालीन समाधानका उपाय हुन् ।’

यदि यी उपाय नअपनाइए, मानव–बाघ द्वन्द्व अझ गहिरो हुनसक्ने र परिणाम दुख्द हुने देखिन्छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *