लम्की – एमाले केन्द्रीय सचिवालय द्वारा गरिएको निष्कासन निर्णय विरुद्ध पूर्व उपाध्यक्ष भीम रावल औपचारिक प्रतिवादमा उत्रने तयारीमा छन्। उनले आगामी दुई–तीन दिनभित्र पत्रकार सम्मेलनमार्फत आफूमाथि लगाइएका आरोपको खण्डन गर्ने र आफ्नो आगामी कदमबारे जानकारी गराउने तयारी गरेका छन्।
पार्टीबाट निष्कासन गरिएपछि केन्द्रीय सदस्य झपट रावलले यसलाई गम्भीर र दुःखद निर्णय भनेका छन्। उनले भने, ‘अध्यक्षले पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यासको नीति अगाडि सार्नुभएको थियो। तर, आज त्यही अध्यक्षले अध्यक्षमा प्रतिस्पर्धा गरेको कारणले भीम रावललाई जिम्मेवारी विहीन बनाएर अन्ततः पार्टीबाट निष्कासन गर्नुभयो।’
झपट रावलले भीम रावल माथिको कारबाहीलाई आन्तरिक लोकतन्त्रको दृष्टिले अनुचित भएको बताएका छन्। उनले थपे, ‘यो निर्णयले सुदूरपश्चिम मात्र नभई देशभर एमालेलाई ठुलो क्षति पुर्याउन सक्छ। रावलजी पार्टी नछोड्ने पक्षमा हुनुहुन्थ्यो, र हामीले पनि उहाँलाई पार्टीमै रहने आग्रह गरिरह्यौँ। तर, अब पार्टीबाट निष्कासन गरेपछि उहाँ सामु धेरै विकल्प छैन।’
झपट रावलका अनुसार पार्टीले आफ्नो निर्णय पुनरावलोकन नगर्ने हो भने त्यसले अध्यक्षको छविलाई मात्र होइन, पार्टीको स्थायित्व र आन्तरिक लोकतन्त्रलाई समेत गम्भीर प्रश्न उठाउन सक्छ। उनले भने, ‘हामी विचार नमिल्नेहरूलाई पार्टी बलियो बनाउन भन्दै भित्र्याइरहेका छौँ। तर, रावल जस्तो नेतालाई निष्कासन गर्दा विरोधीहरूले के आरोप लगाउलान यस्तो निर्णय सच्याइएन भने अध्यक्षको जीवनको उत्तराद्र्धमा मात्र होइन, इतिहासले उहाँको मूल्याङ्कनमा नकारात्मक प्रभाव पार्न सक्छ।’
पार्टीमा आन्तरिक एकता र लोकतन्त्र बलियो बनाउनका लागि निर्णय सच्याउनुको विकल्प नभएको झपट रावलले जोड दिए।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७