मेचि महाकाली मनको कथा कार्यक्रम संचालनमा हिँडे लम्कीका युवा

Spread the love

मेचि महाकाली मनको कथा कार्यक्रम संचालनमा हिँडे लम्कीका युवा

कमल प्याकुरेल/ लम्की – लम्कीका दुई युवा विद्यार्थीले नेपालका सबैभन्दा पूर्वी बिन्दु मेचीदेखि पश्चिमी सीमा महाकालीसम्मको अद्वितीय यात्रा सुरु गरेका छन्। उनीहरूको उद्देश्य केवल यात्रा गर्नु मात्र होइन, विद्यालय–विद्यालय घुमेर विद्यार्थीका पीडा, सपना र संघर्षहरूको कथा सुन्ने, बुझ्ने र तिनलाई “मनको कथा” अभियानमार्फत देशभर पुर्‍याउने हो।

यी विद्यार्थीहरू कालिका माध्यमिक विद्यालय, लम्की चुहा नगरपालिका–१ मा कक्षा १२ मा अध्ययनरत छन्। हालै मात्र प्रथम त्रैमासिक परीक्षा सकेर बर्खे बिदामा निस्किएका उनीहरूले एक महिनाको समयलाई सामाजिक सरोकारमा खर्चिने निधो गरेका छन्।

“मनको कथा” अभियान अन्तर्गत उनीहरूले विभिन्न विद्यालयमा पुगेर त्यहाँका बालबालिकाका जीवनका यथार्थ पक्षलाई उजागर गर्ने छन्। कतै पुस्तकको अभाव छ, कतै भोकका कारण पढ्न नपाएका कथा छन्। कतै–कतै मुस्कानसहितको संघर्ष छ, त कतै शिक्षा सँगै भइरहेको घरेलु हिंसा वा बालश्रमको पीडा पनि।

उनीहरूका अनुसार, “प्रत्येक विद्यालयका फरक पीडा छन्, फरक कथा छन्, तर एउटै उद्देश्य छ — तिनलाई बुझ्ने, साझा बनाउने र परिवर्तनका लागि आवाज उठाउने।”

यी विद्यार्थीहरू केवल पढ्नमै सीमित छैनन्, उनीहरू पत्रकारितासँग पनि जोडिएका छन्। लेखन, रिपोर्टिङ र सामाजिक सञ्जाल प्रयोगमार्फत उनीहरूले आफ्नो अभियानलाई जन–जनमा पुर्‍याउने प्रयास गरिरहेका छन्। यस यात्रामा भेटिएका कथा, दृश्य र अनुभूति उनीहरूले डिजिटल माध्यममा प्रस्तुत गर्ने योजना बनाएका छन् ।

अभियानमा सहभागी दुई युवा केवल आफ्नै बलबुतामा अघि बढेका छैनन्। उनीहरूले देशभरका शिक्षक, विद्यार्थी, अभिभावक र सामाजिक अभियन्तालाई समेत अभियानमा साथ दिन आह्वान गरेका छन्। “हामीलाई साथ दिनुहोस्, कथा सुनाउनुहोस्, र परिवर्तनको यात्रा सँगै तय गरौं,” उनीहरूले आग्रह गरेका छन्।

नेपालभरका विद्यालय र विद्यार्थीको जीवन बुझ्न, सुनाउन र सुधारतर्फ समाजको ध्यानाकर्षण गराउने उद्देश्यले सुरु गरिएको यो यात्रा शिक्षा र पत्रकारिताको मिलनबिन्दुमा आधारित प्रेरणादायी पहल बनेको छ।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *