लम्कीचुहाको नवनिर्मित प्रशासकिय भवन मन्त्री देउवाद्धारा उद्घाटन

Spread the love

लम्की – कैलालीमा लम्कीचुहा नगरपालिकामा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ ।

नेपाल सरकारकी परराष्ट्र मन्त्री डा. आरजु राणा देउबाले सोमबार लम्कीचुहाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेकी हुन् ।
भवनको उद्घाटन गर्दै मन्त्री देउबाले एकीकृत सेवा दिने उद्देश्यले निर्माण गरिएको भवनको उद्घाटन गर्न पाउँदा आफू खुशी भएको बताइन् ।

‘संविधानको मर्मअनुसार नागरिकमा सेवा पुर्याउनका लागि पालिकाहरूमा अहिले भवन निर्माणको काम भइरहेका छन् । यहाँ पनि कृषि सम्बन्धी सेवा दिनका लागि भवन बनाइएको रहेछ,’ मन्त्री देउबाले भनिन्, ‘भवनबाट कृषि सम्बन्धी सेवा दिने जानकारी दिइएको छ, यसमा खुशी छु ।’

त्यसैगरी, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी मन्त्री डा. आरजु राणा देउबाले यस क्षेत्रको विकासमा लागि परेको बताइन् ।
‘यस क्षेत्रको विकासका लागि हामीहरू लागि परेका छौं । म, हाम्रो मेयर सा‘हब, मुख्यमन्त्री ज्यू हामी सबै लागेका छौं। पूर्वपश्चिम राजमार्गको गड्डाचौकीदेखि चिसापानीसम्म सडकलाई छ लेनको बनाउनका लागि काम गरेका छौं। अबको केही महिनापछि सर्वेक्षणको काम सुरु हुन्छ,’ मन्त्री देउबाले बताइन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह समेत उपस्थितीको कार्यक्रममा लम्कीचुहा नगरपालिकाले मन्त्री देउबालाई ज्ञापनपत्र दिएको थियो। नगर प्रमुख सुशीला शाहीले सम्पूर्ण शाखा÷उप–शाखा इकाइहरूबाट एकद्वार प्रणालीद्वारा सेवा प्रवाह गर्नका लागि एकीकृत भवन, लम्कीचुहा अस्पतालको निर्माणाधीन अस्पतालको तलाको थपका लागि स्रोतको व्यवस्थापन, लम्कीचुहाको ५० शय्या अस्पतालको स्रोतको निकासी, र पूर्वपश्चिम राजमार्गअन्तर्गतको गड्डाचौकीदेखि चिसापानीसम्म छ लेन सडकको रूपमा स्तरोन्नतिको माग रहेको ज्ञापनपत्र मन्त्री देउबालाई हस्तान्तरण गरेकी हुन्।

आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट कुल लागत ४३ लाख ५५ हजार ९७७ रुपैयाँमा निर्माण भएको यो भवनबाट एकद्वार प्रणालीबाट सेवा दिने उद्देश्यले निर्माण गरिएको नगर प्रमुख सुषमा महत के.सी.ले जानकारी दिइन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *