लम्कीचुहामा समावेशी र जलवायु उत्थानशील खुला स्थान बनाउन सह-सिर्जना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
लम्कीचुहा नगरपालिकामा Cities4Women परियोजना अन्तर्गत खुला स्थानलाई समावेशी र जलवायु उत्थानशील बनाउनका लागि सह-सिर्जना सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ। UN-Habitat र लम्कीचुहा नगरपालिकाको सहकार्यमा आयोजित कार्यशालामा नगरपालिकाका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष, विभिन्न शाखाका प्रमुखसँगै अन्य सरोकारवालाहरू गरी करिब ६० जनाको सहभागीता थियो। EU र USAID को आर्थिक सहयोग रहेको यो परियोजना UNOPS, UN-Habitat र Cities Alliance ले विभिन्न ६ वटा नगरपालिकामा कार्यान्वयन गरिरहेका छन्। लम्कीचुहामा परियोजना कार्यान्यवन गर्न UN-Habitat लाई सुन्दर नेपाल संस्थाले सघाइरहेको छ। नगरपालिकाका उपप्रमुख जुनाचौधरी प्रमुख आतिथ्यता रहेको कार्यक्रमलाई प्रमुख प्रशासकीय अधिकृत सुष्मा महता केसीले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो। कार्यक्रममा सह-सिर्जना प्रक्रियाले समुदायको आवश्यक्तालाई प्राथमिकतामा राखेर समावेशी र दिगो विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विषयमा छलफल भएको थियो।कार्यक्रमका विशेष वक्ता जलवायु परिवर्तन विशेषज्ञ अजयकुमार केसीले जलवायु उत्थानशीलता र खुला स्थानहरूको महत्त्वबारे प्रस्तुतिकरण राख्नुभएको छ। उहाँले खुला स्थानहरूले जलवायु जोखिम कम गर्न, नगरपालिकाको सौन्दर्यता बढाउन र सबै समुदायलाई एकत्रित गर्न सघाउने उल्लेख गर्नुभयो। परियोजना टोलीले नगरपालिकाका विद्यमान खुला स्थानहरूको नक्सा र त्यसको सुधार गर्न समुदाय-केन्द्रित योजना बनाउन सहयोग गर्ने प्रक्रियाबारे प्रस्तुति दिएको थियो।कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख चौधरीले परियोजनाको प्रशंसा गर्दै यो प्रयासले नगरपालिकालाई थप समावेशी बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत महता केसीले नगरपालिकाको विकासका लागि नागरिक समाज र गैरसरकारी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै परियोजनाको सफलताका लागि निरन्तर सहयोग गर्न प्रतिवद्धता व्यक्त गर्नुभएको छ। कार्यक्रमले स्थानीय सरोकारवालाहरूलाई समावेश गरेर खुला स्थानहरूको सह-सिर्जनाको महत्त्वबारे जानकारी दिनुका साथै परियोजनाका भावी चरणहरूबारे छलफलको अवसर प्रदान गरेको छ। कार्यक्रमपछि परियोजनाले विभिन्न वडामा सह-सिर्जना कार्यशालाहरू आयोजना गरी समुदाय र सरोकारवालाहरूको सहभागितामा खुला स्थानहरूको पहिचान र विकासका लागि योजना निर्माण गर्ने योजना छ। सह-सिर्जना कार्यशालाले नगरपालिकाको समग्र विकासका लागि सबै पक्षबीच सहकार्य र संवादको वातावरण सिर्जना गर्न योगदान पुर्याउने परियोजनाको विश्वास छ।
भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।