
लम्कीमा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
लम्की बाल सञ्जालको आयोजना र सेवक नेपालको सहकार्यमा विजया दशमीको अवसरमा अन्तर-विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता लम्की जेसिज सभाहलमा हिँजो सम्पन्न भएको छ। प्रतियोगितामा लम्कीचुहा नगरपालिका भित्रका ११ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रम लम्की बाल सञ्जालका अध्यक्ष क्षितिज जैसीको सभाध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा नम्बर १ का वडा सदस्य सिद्धराज तिमिल्सिना रहनु भएको कार्यक्रममा सेवक नेपालकी प्रतिनिधि निरुता चौधरी, हाम्रो पाठशालाका प्रिन्सिपल तथा समाजसेवी कृष्ण बटाला लगायतको विशिष्ट उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, समाजसेवी, बुद्धिजीवी, वडा नम्बर ५ का वडा सचिव विष्णुकान्त प्याकुरेल, लम्की बाल सञ्जाल कैलालीका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तिमिल्सिनाले यस्ता प्रतियोगिताले विद्यार्थीको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउँदै लम्कीचुहामा मात्र नभई देशभर यस्ता कार्यक्रमलाई विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
त्यस्तै, विशिष्ट अतिथि समाजसेवी कृष्ण बटालाले संस्थाले गरेको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम गर्न शुभकामना दिनुभयो।
वक्तृत्वकला प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय भुरुवाका प्रकाश न्यौपाने प्रथम, बालकल्याण माध्यमिक विद्यालय भुरुवाकी पुष्पा बडुवाल दोस्रो, राष्ट्रिय माध्यमिक विद्यालय बल्चौरका कौशल जोशी तेस्रो तथा जनसेवा माध्यमिक विद्यालयकी यमुना धमाला सान्त्वना (चौथो) भएका थिए। उनीहरूलाई प्रमाणपत्र, मेडल र शैक्षिक सामग्री वितरण गरी सम्मान गरिएको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा लोकेश खनाल र राजेन्द्र भण्डारी रहेका थिए।
सभाध्यक्ष क्षितिज जैसीले यसपटक वक्तृत्वकला प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै भविष्यमा अझ राम्रो कार्यक्रम गर्ने र विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। साथै, सहकार्य गर्ने सेवक नेपाललाई धन्यवाद पनि दिनुभयो।
लम्की बाल सञ्जालका सचिव यशोदा जैसीको स्वागत मन्तव्यसँग सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सदस्य कमल प्याकुरेले गर्नुभएको थियो।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७