लम्कीमा खुकरी प्रकरण : कसरी भयो घटना?

Spread the love

लम्कीचुहा खुकरी प्रकरण : कसरी भयो घटना ?

लम्की/ चैत्र ३ , शनिबार साँझ साढे ७ बजे कैलालीको लम्कीचुहा–२ मोतिपुरका युवा कमल रावलमाथि सांघातिक हमला हुन्छ। गाडी सहित उभिएको प्रहरीको मुखमै घरमै आएर १२/१३ जनाको समूहले ज्यान मार्ने उद्देश्यले धारिलो हतियार प्रयोग गर्दै गरेको निर्भय रूपमा भएको आक्रमणलाई अहिले निक्कै शंकाको नजरमा हेर्न थालिएको छ।

यसरी भयो घटना : शनिबार साँझ ६ बजे अनुप शाही लगायतका युवा समूह इलाका प्रहरी कार्यालयमा गएर निवेदन दिन्छ। प्रहरीका अनुसार निवेदनमा कमल रावलले निवेदक अनुप शाहीलाई बन्धक बनाएको, हतियार देखाउँदै यातना दिएको आरोप सहित निवेदन इप्रकामा आएको थियो। निवेदनमा भएका कुरा देख्दा प्रहरी तुरुन्तै ‘एक्सनमा’ गएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र सिंहले जानकारी दिए। ‘बन्धक बनाएको, हतियार देखाउँदै यातना दिएको विषय गम्भीरताको विषय भएका कारण प्रहरी एक्सनमा गयो। त्यसपछि प्रहरीको एक टोली गाडी र चार/पाँच जना प्रहरी जीप लगेर कमल रावलका घरमा गएको थियो,’ प्रहरी निरीक्षक सिंहले भने, ‘प्रहरी कमल रावलका बुवासँग कुरा गरिरहेको अवस्थामा कमल रावल भने घरको पछाडिबाट भाग्ने कोशिस गर्दै थिए। त्यसै अवस्थामा खै कहाँबाट आएको त्यत्रो समूह जसले कमल रावलमाथि धारिलो हतियार प्रयोग गर्दै आक्रमण गर्न थाले। नजिकै रहेको प्रहरीले त्यो हुलमुलमा गएर घाइते कमल रावलको उद्धार गर्यो।’

प्रहरीले कमल रावलको उपचारका लागि शनिबार राति लम्कीचुहा अस्पताल पुर्‍याएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई सोही राति धनगढीस्थित मायामेट्रो अस्पतालमा लगेर उपचार भइरहेको छ।

घटनाको पछिल्लो दिन अर्थात् आज आइतबार घाइते रावलका आफन्त तथा स्थानीयवासीले केहीबेर पूर्वपश्चिम राजमार्ग सडक अवरुद्ध समेत पारेका थिए। प्रहरीले किटानी जाहेरी ल्याएपछि आफू जुनसुकैलाई पक्रन तयार रहेको आश्वासन दिएपछि सहमति भएको थियो। यो समाचार तयार पार्दासम्म किटानी जारीको तयारी रहेको बुझिए पनि इप्रका लम्कीमा भने आइसकेको छैन।

प्रहरी घटनास्थलमा नभएको अवस्थामा घटना अझै दुःखद् हुने सम्भावना रहेको प्रहरी निरीक्षक सिंहको दाबी छ भने उता स्थानीयले प्रहरीको संरक्षणमै गुण्डागर्दी भएको बताउँछन्। स्थानीय तथा मोतिपुर बजार व्यवस्थापन समितिका अध्यक्ष टीकाराम तिमिल्सिनाले भने, ‘प्रहरी भ्यान यही छ। हतियार सहितका प्रहरी छन्। प्रहरी पहिला पुग्छन्, त्यसलगत्तै आक्रमणकारी आउँछन् र घरमा बसेकोमाथि खुकुरी प्रहार हुन्छ। यो भनेको सरासर प्रहरीको संरक्षणमा भएको गुण्डागर्दी हो।’

स्थानीयले सडक अवरुद्ध गर्ने क्रममा प्रहरीले प्रशासकीय विरुद्धमा चर्को नारा समेत लगाएका थिए।

अनुत्तरित प्रश्नहरू:

प्रहरी सामुन्ने हमला हुनु संयोग मात्र हो कि नियोजित?

कमल रावललाई पक्राउ गर्न गएको प्रहरी किन सामान्य तयारीमा मात्र थियो?

आक्रमणकारी समूह कसले परिचालन गर्यो?

प्रहरी नजिकै थियो, तर आक्रमणकारीले कसरी त्यस्तो निडरतापूर्वक हमला गरे?

यो घटनाले प्रहरीको भूमिका, सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रण प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *