
कालिका मावि लम्कीका विद्यार्थीहरुद्वारा विपिन जोशीको रिहाईको माग गर्दै शान्तिपूर्ण आन्दोलन लम्कीमा सम्पन्न ।
लम्की/भाद्र ६ – इजरायलमा अध्ययनको सिलसिलामा पढ्न गएका नेपाली विद्यार्थी विपिन जोशीको तत्काल रिहाइको माग गर्दै कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित कालिका माध्यमिक विद्यालय, भुरुवामा शुक्रबार शान्तिपूर्ण प्रदर्शन सम्पन्न गरिएको छ। इजरायल–हमास युद्धको क्रममा नेपाली विद्यार्थी जोशी हमासको कब्जामा परेपछि उनको सुरक्षित रिहाइका लागि देशभरै आवाज उठिरहेको बेला भुरुवाका विद्यार्थीले पनि एकजुट भई आफ्नो आवाज बुलन्द गरेका हुन्।
विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरूको पहलमा तथा विद्यालय प्रशासनको प्रत्यक्ष सहकार्यमा आयोजना गरिएको सो कार्यक्रममा कक्षा ९ देखि १२ सम्मका सयौं विद्यार्थीहरूको सहभागिता रहेको थियो। शिक्षक–कर्मचारीको समेत साथ रहेको सो प्रदर्शन विद्यालय परिसरबाट नारा लगाउँदै शुरु भई लम्की चौराहासम्म पुगेको थियो। लम्की चौराहामा कोणसभा सम्पन्न गरेपछि पुनः विद्यालयमै आएर समापन गरिएको थियो।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले “विपिन जोशीको रिहाइ गर”, “सरकार चुपचाप बस्न पाइदैन”, “नेपाल सरकार विपिन जोशीको अवस्था सार्वजनिक गर”, “परराष्ट्र मन्त्रालय विपिन जोशीको रिहाइको पहल जारी गर”, “हाम्रो साथी हाम्रो शान” लगायतका जोरदार नारा लगाएका थिए।
कोणसभामा वक्ताहरूले सरकार र सम्बन्धित निकायले विपिन जोशीको अवस्था यथाशीघ्र सार्वजनिक गर्नुपर्ने माग गरेका थिए। उनीहरूले अब ढिलासुस्ती नगरी नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा पहल गर्दै आफ्ना नागरिकको सुरक्षा र रिहाइ सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।

सो शान्तिपूर्ण प्रदर्शनले स्थानीय समुदायको समेत ध्यान आकर्षित गरेको थियो। विद्यालयका विद्यार्थी मात्र नभई अभिभावक र समाजका प्रतिनिधिहरू पनि उक्त प्रदर्शनलाई समर्थन जनाउँदै उपस्थित भएका थिए। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले विपिन जोशी जस्ता निर्दोष नेपाली विद्यार्थीलाई निर्दय युद्धको सिकार हुन नदिई तत्काल स्वदेश फर्काउनुपर्ने माग गरेका थिए।
यसअघि पनि देशका विभिन्न स्थानमा विपिन जोशीको रिहाइको मागमा विद्यार्थी, शिक्षक, युवा तथा स्थानीय समुदायले विरोध प्रदर्शन र दबाबमूलक कार्यक्रम गर्दै आएका छन्।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७