चैते धान खेतीले लम्कीचुहामा जगाएको आशा : सिचाइको अभावले टुट्दै किसानको भरोसा

Spread the love

चैते धान खेतीले लम्कीचुहामा जगाएको आशा : सिचाइको अभावले टुट्दै किसानको भरोसा

लम्की/चैत्र २४

चैते धान खेतीले लम्कीचुहाका किसानमा आशा जगाएको छ । पहिले वर्षमा दुईपटक मात्रै खेती गर्ने किसान अहिले तेस्रो पटक पनि खेती गर्न थालेका छन् । आम्दानी बढ्ने देखेर उनीहरू उत्साहित छन्, तर सिचाइको राम्रो व्यवस्था नभएकाले चिन्ता बढेको छ । खेत हरियाली भए पनि पानी(सिचाइ)को कमीले मेहनत खेर जाने डर किसानलाई छ ।

लम्कीचुहा नगरपालिका–७ का ४२ वर्षीय अन्दराम चौधरीले सिमलमण्डीमा १३ कठ्ठा खेतमा चैते धान रोपेका छन्। असारे धान भन्दा चैते धानबाट आम्दानी राम्रो हुने र खेत बाँझो नरहने भएकाले अन्दारामले २ वर्षयता चैते धानको खेती गरिरहेका छन् ।

‘अघिल्लो वर्ष ७ कठ्ठा क्षेत्रफलमा गरेको चैते धानको खेतीबाट मनग्य आमदानी भएपछि उत्साही भएर यो वर्ष १३ कठ्ठामा चैते धान रोपेको छु,’ अन्दारामले भने, ‘तर सिँचाइको व्यवस्था नहुँदा समस्या छ । पानी नहुँदा बाली सुक्ने डरले रातभर निद्रा लाग्दैन ।’

चैते धान खेती सुक्खा मौसममा गर्नु पर्ने र माटो नमीको आवश्यकता हुने भएकाले किसानलाई सिचाइको समस्याले बढी सताउने गर्छ । हप्तामा कम्तीमा ३ पटक ४–५ घण्टाको दरमा सिचाइ गर्नाले किसानको लागत बढेको छ र त्यसले समस्यामा पारेको छ ।

‘वर्षायाम जस्तो आकाशेपानीबाट सिचाइ गर्न सकिन्न । मौसम सुक्खा हुन्छ र खेतमा पानी रहनुपर्छ । गर्मी धेरै हुने भएकाले सिचाइ गरिएको पानी लामो समय रहँदैन । हप्तामा कम्तीमा तीनदेखि चार पटक सिचाइ गर्नैपर्छ,’ लम्कीचुहा–५ का किसान दिल बहादुर रोका भन्छन् ।

‘४–५ घण्टासम्म बोरिङ्ग चलाएर सिचाइ गर्नुपर्छ। घण्टाको तीन सय रुपैयाँ लिन्छन् । हप्तामा ३६०० रुपैयाँ त सिचाइमा मात्र जान्छ । मल, खाद र आफ्नो मेहनत एकतर्फ छदैछ । सिचाइको खर्चले हाम्रो लागत बढाएको छ ।’

लम्कीचुहा नगरपालिकामा यो वर्षमा करिब १५ हेक्टरमा चैते धान रोपिएको छ । “चैते–३, चैते–४, चैते–५ र हर्दिनाथ ३, हार्दिनाथ–५ जातका चैते धान लम्कीचुहाको करिब १५ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ ।’ लम्कीचुहा नगरपालिकाको कृषि विकास शाखा नायब प्राविधिक सहायक सुरेश प्रसाद ढुंगानाले भन्छन् ।

चैते धानलाई सिचाइको आवश्यकता धेरै उच्च हुन्छ । चैते धान फागुनको अन्तिमबाट रोप्न सुरु गरिन्छ, जुन सामान्यतः सुक्खा मौसम रहन्छ । त्यसैले धानलाई पानीमा हुर्काउने बाली भएकाले खेती गरेको माटोमा नमी रहनुपर्छ, जसले सिचाइको आवश्यकता थप बढाउँछ । बाली संरक्षण अधिकृत विक्रम चौधरी बताउँछन्, ‘चैते धान खेतीको समयमा सूर्यको ताप धेरै हुन्छ । सूर्यको किरण माटोमा पर्नासाथ माटो ततिन्छ र भित्रको पानी बाफ बनाएर उड्न थाल्छ । वर्षात् नपर्ने बेला जमिनमा पानीको अभाव हुन्छ, त्यसैले कृत्रिम सिचाइ अनिवार्य हुन्छ ।’

त्यस्तै बाली संरक्षण अधिकृत चौधरीका अनुसार, यदि सिचाइको पर्याप्त व्यवस्था नभएमा माटो चाँडै सुक्छ र बिरुवाको जरामा पानी नपुग्दा बिरुवा पहेँलिन सक्छ । पानीको अभावले ४–५ दिनको अन्तरमा सिचाइ नगरे यसको उत्पादनमा ठूलो असर पर्न सक्छ ।

लम्कीचुहा नगरपालिकाको कृषि विकास शाखा नायब प्राविधिक सहायक सुरेश प्रसाद ढुंगाना लम्कीचुहामा वैकल्पिक सिचाइको स्रोत भनेको भूमिगत पानी भएकाले पर्याप्त सिचाइको व्यवस्था नभएको स्वीकार गर्छन् ।

‘तर, किसानलाई सिचाइका लागि बोरिङ्ग र ट्युबेल वितरण गरिएको छ । विभिन्न समयमा वडा कार्यालय, नगरपालिका, कृषि ज्ञान केन्द्र र प्रदेश सरकारबाट बोरिङ्ग र ट्युबेल वितरण गरिएका छन्,’ ढुंगानाले भने, ‘लम्कीचुहा नगरपालिका क्षेत्रमा नदी कुलोबाट सिचाइ प्रणाली छैन। लम्कीचुहामा सिचाइको वैकल्पिक स्रोत भूमिगत पानी मात्र हो। यसले किसानलाई पर्याप्त सिचाइ नपुगेको हुनसक्छ ।’

किसानहरूले चैते धानको खेतीलाई प्रोत्साहन गर्न सिचाइ सुविधा, उन्नत बीउ र तालिमको माग गरेका छन् । लम्कीचुहा किसानहरूको उत्साहलाई कायम राख्न र चैते धानको उत्पादन बढाउन स्थानीय सरकारले तुरुन्त सिचाइको समस्या समाधान गर्नुपर्ने देखिन्छ । नत्र, यस क्षेत्रको चैते धान खेती घट्ने जोखिम छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *