प्रेस चौतारी कैलालीको १३ बुँदे वार्षिक कार्ययोजना पारित

Spread the love

प्रेस चौतारी कैलालीको १३ बुँदे वार्षिक कार्ययोजना पारित, २५ भदौँमा अक्षयकोष घोषणा समारोह हुने 

धनगढी । प्रेस चौतारी नेपाल कैलाली जिल्ला समितिले वार्षिक कार्ययोजना निर्माण गरेर पारित गरेको छ । शनिबार धनगढीमा बसेको प्रेस चौतारीको तेस्रो बैठकले उपाध्यक्ष समेत रहेका कार्ययोजना निर्माण समितिका संयोजक लोकुसिंह ठकुरीले पेश गरेको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्ययोजना सम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

कार्ययोजनामा प्रेस चौतारीको अक्षयकोष स्थापना तथा घोषणासभादेखि स्मारिक प्रकाशन, वेवसाइट निर्माण, सदस्यता शुद्धिकरण, सांगठानिक प्रशिक्षण, साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण लगायतका योजना समावेश गरिएको छ ।

संगठनका सचिव दिनेशबहादुर विष्टले शनिबारको बैठकले अक्षयकोष व्यवस्थापन समितिलाई पूर्णता दिदै २५ भदौमा धनगढीमा भव्य समारोहबीच अक्षयकोष स्थापना तथा घोषणा गरिने बताए ।

उनकाअनुसार अक्षयकोष सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधिबमोजिम अक्षयकोष व्यवस्थापन समितिको अध्यक्षमा संगठनका अध्यक्ष जनकसिंह विष्ट र सदस्य सचिवमा सचिव दिनेशबहादुर विष्ट रहेका छन् भने सोही कार्यविधिअनुसार शनिबारको बैठकले सहसचिव भूपेन्द्र वि.क.(प्रिन्स), पुर्णबहादुर साउद र भुवनेश्वरी रानालाई व्यवस्थापन समिति सदस्यमा मनोनित गरेको छ ।

वार्षिक कार्ययोजनाअनुसार भदौ ७ गते जनसंगठनहरुसँग अन्तरक्रिया, असोज १ गते अग्रजसँग प्रेस चौतारी कार्यक्रम, असोज ८ गते दशैँ मिलन तथा वनभोज कार्यक्रम आयोजना गरिनेछ । कार्तिक १५ देखि मंसिर १५ को अवधिलाई संगठनात्मक शुद्धिकरण, प्रशिक्षण अभियान र पत्रकारका लागि डिजिटल सुरक्षा तालिम सञ्चालन गर्ने कार्ययोजना बनाइएको सचिव विष्टले बताए ।

यस्ता छन् वार्षिक योजनाका १३ बुँदा

१) अक्षयकोष स्थापना तथा घोषणा–भदौ २५ गते

२)जनसंगठनहरुसँग अन्तरक्रिया–भदौ ७ गते

३) अग्रजसँग प्रेस चौतारी– असोज १ गते

४)दशैँ मिलन तथा वनभोज कार्यक्रम–असोज ८ गते

५) संगठनात्मक प्रशिक्षण अभियान, सदस्यता शुद्धिकरण तथा नवीकरण र पत्रकारका लागि डिजिटल सुरक्षा तालिम –कार्तिक १५ देखि मंसिर १५ सम्म

६) पत्रकार महासंघका प्रतिनिधिसँग अन्तरक्रिया–पुस १५ गते

७) स्थापना दिवसमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर तथा औपचारिक समारोह–माघ २२ गते

८) नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन –चैत २८ गते

९) जनप्रतिनिधि र प्रेस चौतारीबीच अन्तरक्रिया– बैशाख

१०)प्रदेश समितिसँगको समन्वयमा गणतन्त्र दिवस मनाउने

११) प्रेस स्वतन्त्रता दिवसका अवसरमा प्रहरी प्रशासन र सरोकारवालासँग पत्रकार सुरक्षा संवाद– ३ मे

१२) मदन भण्डारी जन्मजयन्तीको अवसरमा १४ असारमा कलमजीवीका लागि चौतारी किन ? विषयक अन्तरक्रिया

१३) असार मसान्तभित्र प्रेस चौतारीको स्मारिका प्रकाशन तथा वेवसाइट निर्माण

प्रेस चौतारी कैलालीका अध्यक्ष जनकसिंह विष्टको अध्यक्षतामा बसेको तेस्रो बैठकका प्रमुख अतिथि संगठनका केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज हरि जोशी रहेका थिए । एमाले कैलालीका उपसचिव एवंम् प्रचार तथा प्रकाशन विभाग प्रमुख चुडामणी भट्ट विशेष अतिथि थिए भने संगठनका सुदूरपश्चिम अध्यक्ष नरेन्द्रसिंह कार्की, सदस्य रमित वि.क. लगायत अतिथिका रुपमा सहभागी थिए ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरुले संगठनलाई गतिशिल र चलायनमान बनाउन वार्षिक कार्ययोजनाले महत्वपूर्ण भूमिका खेल्न बताएका थिए । उनीहरुले पत्रकारको पेशागत हकहित र पेशागत सुरक्षाका लागि प्रेस चौतारी अग्र मोर्चामा रहेर काम गर्ने संगठनका रुपमा स्थापित रहेकाले संगठनलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

यसैबीच शनिबार नै प्रेस चौतारी नेपाल कैलालीले जिल्ला समितिको कार्यालय समेत स्थापना गरेको छ । धनगढी उपमहानगरपालिका–५ को हसनपुरमा रहेको प्रदेश समितिको कार्यालय रहेकै भवनमा कार्यालय स्थापना गरिएको हो ।

कार्यालयको प्रेस चौतारीका कैलाली इन्चार्ज हरि जोशी र एमाले उपसचिव एवंम् प्रचार तथा प्रकाशन विभाग प्रमुख चुडामणी भट्टले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *