लम्कीमा इसाई समाजको सांस्कृतिक कार्यक्रममा गायक करन परियार सहभागी हुने

Spread the love

लम्कीमा हुने इसाई समाजको सांस्कृतिक कार्यक्रममा गायक करन परियार सहभागी हुने 

कैलालीको लम्कीचुहामा इसाई समाजले एक दिने ख्रीष्टियन सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाल राष्ट्रिय इसाई समाज, लम्कीचुहा नगर इसाई समाजको संयुक्त आयोजनामा यहि कार्तिक ७ गते (आइतवार) लम्कीमा कार्यक्रम हुने आयोजकले जानकारी दिएका छन् ।

लम्कीमा आइतवार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमका बारेमा जानकारी दिँदै पाष्टर चेतराज जोशीले यस सांस्कृतिक कार्यक्रमको उद्देश्य स्थानीय इसाई समुदायबीच एकता र सहअस्तित्व सुदृढ गर्नु रहेको बताए । उनका अनुसार ‘दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ’ भन्ने बाइबलको गहिरो सन्देशलाई आत्मसात गर्दै लम्की क्षेत्रको धार्मिक, सांस्कृतिक र सामाजिक पहिचानलाई उजागर गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा ख्रीष्टियन सांस्कृतिक प्रस्तुति, स्तुति आराधना, गवाही, प्रेरणादायी बाइबलीय प्रवचन तथा सामाजिक सन्देशमूलक विभिन्न प्रस्तुति रहनेछ। साथै, यस कार्यक्रममार्फत समाजमा प्रेम, सहयोग र आपसी सम्मानको सन्देश फैलाउने प्रयत्न हुने आयोजकले जनाएको छ ।

करीब चार लाख रुपैयाँ लागत अनुमान गरिएको सो कार्यक्रममा नेपाल आइडल सिजन २०२४ का विजेता करन परियार, गायक अनु चौधरीलगायतका कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । स्थानीय मण्डलीका अगुवा, ख्रीष्टियन व्यवसायी तथा सामुदायिक प्रतिनिधिको सहयोगमा आयोजना गर्न लागिएको कार्यक्रमको प्रचार–प्रसार र सहभागिताका लागि आयोजक समितिले सबैलाई अनुरोध गरेको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *