लम्कीचुहा अस्पतालमा एकपक्षीय हस्तक्षेपप्रती लम्कीचुहा अस्पताल विकास समितिको आपत्ती
लम्की – कैलालीको लम्कीचुहा नगरपालिकास्थित अस्पताललाई प्रदेश अस्पतालमा स्तरोन्नति गर्ने विषयमा प्रदेश सरकार र नगरपालिकाबीच असमझदारी बनेको छ।
लम्कीचुहा अस्पताल विकास समिति अध्यक्ष तथा नगर प्रमुुुख सुुुुशीला शाहीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नगर कार्यपालिकाको निर्णयपछि दुवै पक्षबीच आवश्यक कानुनी तथा प्रक्रियागत छलफल सम्पन्न भई समझदारी पत्र (MOU) मा हस्ताक्षर भइसकेको छ।
अब बाँकी प्रक्रिया सहमतिअनुसार अघि बढ्ने स्पष्ट गरिएको छ। समितिले जनतालाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको जनाएको छ।
स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा प्रदेश र स्थानीय सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
तर पछिल्लो समय आवश्यक समन्वयबिना केही व्यक्तिहरूले एकपक्षीय रूपमा अस्पताल व्यवस्थापन समिति गठन गरेको, अस्पताल परिसरमा जबर्जस्ती प्रवेश गरेको तथा कर्मचारीलाई दबाब दिने जस्ता गतिविधि गरेको भन्दै समितिले आपत्ति जनाएको छ।
यस्ता गतिविधिले न्यूनतम नैतिक मापदण्ड उल्लंघन गर्नुका साथै सेवा प्रवाहमा प्रत्यक्ष असर पार्ने खतरा रहेको बताइएको छ। विकास समितिले प्रदेश सरकारको निर्देशन वा सहमतिबिना गरिने यस्ता अव्यवस्थित र गैरकानुनी गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेको छ।
साथै तत्काल यस्ता कार्य बन्द गर्न सम्बन्धित पक्षलाई सचेत गराउँदै भविष्यमा दोहोरिए कानुनी उपचारको बाटो अपनाइने चेतावनी दिइएको छ। अन्त्यमा समितिले जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले सबै पक्ष जिम्मेवार, संयमित र सहकार्यात्मक ढंगले अघि बढ्न आग्रह गरेको छ।
