
अम्मरपुरमा खुला पुरुष फुटबल प्रतियोगिता हुँदै, असोज ६ गते पत्रकार सम्मेलन
लम्की – कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ०४ अमरपुरमा खुला पुरुष फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। समानता युवा क्लवको आयोजनामा असोज १५ गते सञ्चालन हुने प्रतियोगिताको तयारीसँगै आयोजकले असोज ६ गते अर्थात भोली पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे औपचारिक जानकारी सार्वजनिक गर्ने भएको छ।
स्थानीय स्तरमा फुटबल खेलको प्रवर्द्धन, युवाको खेल प्रतिभा उजागर तथा खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिताले स्थानीय तथा आसपासका क्षेत्रका फुटबल खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै युवालाई खेलकुद गतिविधिमा जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताको मुख्य प्रवर्द्धक लम्कीचुहा नगरपालिका रहेको छ भने जापानको टोकियोस्थित बुलबुल मल्टी सर्भिस प्रा.लि. सहायक प्रायोजकका रूपमा जोडिएको छ। स्थानीय तहको प्रवर्द्धन र विदेशमा रहेका नेपालीको सहयोगले प्रतियोगितालाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अमरपुर खेलमैदानमा हुने प्रतियोगिताले लम्कीचुहा क्षेत्रमा खेलकुद गतिविधि विस्तार गर्न र स्थानीय स्तरमा फुटबलप्रतिको आकर्षण बढाउन योगदान पुर्याउने विश्वास आयोजकको रहेको छ।
प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी, तयारी तथा अन्य व्यवस्थापकीय विषयमा असोज ६ गते अर्थात भोली बिहान ११ बजे आयोजना हुने पत्रकार सम्मेलनबाट थप जानकारी दिइने आयोजकले जनाएको छ ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७