
नदीजन्य पदार्थ उत्खनन र राजस्व संकलनमा पारदर्शिता र वातावरणीय संरक्षण सुनिश्चित गर्न एमाले गाउँकमिटी अध्यक्ष बम बहादुर रावलद्वारा गाउँपालिकालाई ध्यानाकर्षण । उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेँ
नदीजन्य पदार्थको उत्खनन र राजस्व संकलन व्यवस्थित, पारदर्शी तथा वातावरणमैत्री बनाऔँ।
मोहन्याल गाउँपालिका, कैलालीले आर्थिक वर्ष २०८३/०८४ का लागि नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी तथा बालुवा) उत्खनन गरी राजस्व संकलन गर्ने उद्देश्यले विभिन्न खोलाहरूमा ठेक्का आह्वान गरेको सन्दर्भमा केही महत्वपूर्ण विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराउन चाहन्छु।
ठेक्का आह्वान गर्नु र राजस्व संकलन गर्नु मात्र ठूलो कुरा होइन, ठेक्का लगाइएका खोलाहरूमा कुन क्षेत्रबाट, कति परिधिभित्र, कति गहिराइसम्म र कति परिमाणमा नदीजन्य पदार्थ उत्खनन गर्न पाइने हो भन्ने विषय स्पष्ट हुनु अझ महत्वपूर्ण छ।
यस सम्बन्धमा मोहन्याल गाउँपालिकाका अध्यक्षज्यू, उपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू तथा प्राविधिक शाखा प्रमुखज्यूलाई निम्न विषयमा स्पष्ट जानकारी सार्वजनिक गरिदिन अनुरोध गर्दछु।
१. ठेक्का लगाइएका प्रत्येक खोलाको उत्खनन गर्न पाउने निश्चित क्षेत्र, चारकिल्ला तथा भौगोलिक सीमाना कहाँसम्म हो?
२. खोलाको कुन स्थानदेखि कुन स्थानसम्म उत्खनन गर्न पाइने हो? त्यसको लम्बाइ, चौडाइ र क्षेत्रफल कति निर्धारण गरिएको छ?
३. वातावरणीय अध्ययन प्रतिवेदन तथा प्राविधिक मापदण्डअनुसार कति गहिराइसम्म उत्खनन गर्न मिल्ने हो?
४. प्रत्येक खोलाबाट कति घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्न स्वीकृति दिइएको छ?
५. उत्खनन गर्न निषेध गरिएका क्षेत्र, नदीको बहाव, पुलपुलेसा, तटबन्ध, बस्ती तथा खेतीयोग्य जमिनको सुरक्षाका लागि के-कस्ता मापदण्ड निर्धारण गरिएका छन्?
६. उत्खनन कार्यको अनुगमन, परिमाण मापन तथा वातावरणीय मापदण्ड पालना गराउने जिम्मेवारी कसरी निर्वाह गरिनेछ?
व्यवसायी साथीहरूलाई पनि विशेष आग्रह छ : गाउँपालिकाले ठेक्का लगाएको भन्दै जथाभावी उत्खनन नगरी स्वीकृत क्षेत्र, तोकिएको परिधि, गहिराइ, परिमाण र वातावरणीय मापदण्डभित्र रहेर मात्र उत्खनन तथा संकलन गर्नुहोला। सार्वजनिक सम्पत्ति र प्राकृतिक स्रोतको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
गाउँपालिकाले पनि ठेक्का सम्झौता, वातावरणीय अध्ययन प्रतिवेदन, प्राविधिक नक्सा, उत्खनन क्षेत्रको चारकिल्ला, अधिकतम गहिराइ र स्वीकृत परिमाणसम्बन्धी विवरण व्यवसायी तथा आम नागरिकले सहजै जानकारी पाउने गरी सार्वजनिक गर्न आवश्यक छ।
हाम्रो उद्देश्य विकास निर्माणका कामलाई रोक्नु होइन। स्थानीय प्राकृतिक स्रोतको उचित उपयोग गर्दै गाउँपालिकाको राजस्व वृद्धि गर्नु, व्यवसायीको लगानी सुरक्षित गर्नु, स्थानीय वातावरण र प्राकृतिक सम्पदाको संरक्षण गर्नु तथा भविष्यमा आउन सक्ने विवाद र क्षति रोक्नु हो।
राजस्व पनि बढोस्, व्यवसायी पनि सुरक्षित रहून्, प्राकृतिक सम्पदा पनि जोगियोस्। यस विषयमा सम्बन्धित जनप्रतिनिधि तथा कर्मचारीज्यूहरूबाट आवश्यक जानकारी र स्पष्ट धारणा आउने अपेक्षा गर्दछु। प्राकृतिक स्रोत हाम्रो साझा सम्पत्ति हो, यसको संरक्षण र सदुपयोग हाम्रो साझा जिम्मेवारी हो।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७