बिरेन्द्र सामुदायिक वनको ११औं साधारण सभा सम्पन्न, निर्वाचन शनिबार

Spread the love

लम्की – कैलालीको लम्कीचुहा-२ मोतिपुरमा रहेको बिरेन्द्र सामुदायिक वन उपभोक्ता समूहको ११औं साधारण सभा सम्पन्न भएको छ।

लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाही प्रमुख अतिथि रहेकी साधारण सभा समूहको कार्यालय मोतिपुरमा शुक्रबार सम्पन्न भएको हो।

प्रमुख अतिथि तथा लम्कीचुहा नगर प्रमुख सुशीला शाहीले कानुनले व्यवस्था गरे अनुसार सामुदायिक वनले राजस्व नगरपालिकामा दाखिला गर्नु पर्ने बताइन्। “सामुदायिक वनले वन पैदावरको कारोबारबाट करोडौंको आम्दानी गरेका छन्,” नगर प्रमुख शाहीले भनिन्, “आम्दानी गर्ने भए पनि अहिलेसम्म सामुदायिक वनहरूले नगरपालिकामा आफ्नो दायित्वअनुसार राजस्व दाखिला गरेका छैनन्। त्यो (राजस्व दाखिला गर्ने) अब गरिनु पर्छ।”

त्यस्तै, नगर प्रमुख शाहीले चरन क्षेत्रको कमीकै कारण छाडा पशु चौपाया बढेको बताउँदै सामुदायिक वनले पशु चौपायाका लागि चरन क्षेत्र छुट्याउनु पर्ने बताइन्।

लम्कीचुहा नगरपालिका वडा नं. २ का अध्यक्ष सन्तोष कुमार ओलीले यो साधारण सभा उपभोक्ताको आफ्नै सभा भएकाले उपभोक्ताहरूले खुलेर आफ्नो भनाइ राख्न अनुरोध गरे। त्यस्तै, अध्यक्ष ओलीले चुनावी साधारण सभा भएकाले काम गर्न इच्छुक र समय दिन सक्ने नेतृत्व आएमा समूहलाई फाइदा हुने र हतारमा मात्र नेतृत्व लिने होड चलेमा समूहलाई घाटा हुन सक्ने कुरामा सजग गराए।

बल्चौर वन तथा वातावरण स्रोत विकास केन्द्र (बाफर) नेपालकी कार्यक्रम संयोजक ममता रावलले स्पष्ट कानुनी व्यवस्था नभएकाले सामुदायिक वनले तीन वटै सरकारलाई कर तिर्नु पर्ने बाध्यता रहेको बताइन्। त्यस्तै, सरकारले राजस्व संकलन मात्र होइन, वन संरक्षण, उपभोक्ताको आयस्तर वृद्धि, र वन प्रवर्द्धनमा पनि आवश्यक काम गर्नुपर्ने बताइन्।

“अहिले यहाँ स्थानीय सरकारले आफ्नो १० प्रतिशत राजस्वको माग गरेको छ। कानुनी व्यवस्था भए अनुसारको दाखिला गर्नु पर्ने राजस्व समयमा दाखिला गरिनु पर्छ,” रावलले भनिन्, “त्यस्तै, सरकारको ध्यान राजस्व संकलन मात्र नभई वन संरक्षण, उपभोक्ताको आयस्तर वृद्धि, र वन प्रवर्द्धनमा आवश्यक कदम चाल्नुपर्ने हुन्छ।”

करिब १५ सय उपभोक्ता रहेको बिरेन्द्र सामुदायिक वन उपभोक्ता समूहको यो साधारण सभा चुनावी साधारण सभा पनि हो। निर्वाचन कार्यक्रमका लागि तीन सदस्यीय निर्वाचन समिति चयन गरिएको छ। विरेन्द्र शाही संयोजक रहेको निर्वाचन समितिले भोलि (शनिबार) बिहान ८ बजेदेखि समूहको कार्यालयमा निर्वाचन कार्यक्रम सुरु गर्नेछ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *