नगर प्रमुखकै सोरुम अगाडि हाइमास्ट लाइट बन्द, नगरपालिकाको व्यवस्थापन र अनुगमन माथी गम्भीर प्रश्न ?
भरत रिमाल/लम्की – लम्की बजारको मुख्य क्षेत्रमा जडान गरिएको हाइमास्ट लाइट लामो समयदेखि बन्द अवस्थामा रहँदा नगरपालिकाको सार्वजनिक पूर्वाधार व्यवस्थापन र नियमित अनुगमनमाथि गम्भीर प्रश्न उठेको छ।
त्रिवेणी मिडियाको टिमले हिँजो हाइमास्ट लाईट लम्की देखि चुहा सम्मको स्थलगत रिपोर्टिङ गरेका थियौँ। त्यहाँ स्थानियहरुले गुनासो पोखिरहेका छन्, सम्बन्धित निकायले बेलैमा सोच्न जरुरी छ।
लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाहीको यामाहा सोरुम अगाडि नै रहेको हाइमास्ट लाइट लामो समयदेखि नबल्नु आफैंमा चासो र प्रश्नको विषय बनेको छ। बजारको मुख्य तथा व्यस्त क्षेत्रमा रहेको उक्त बत्ती बिग्रिएर अँध्यारो हुँदा पनि सम्बन्धित निकायको ध्यान नपुग्नु वा पुगे पनि तत्काल मर्मतका लागि प्रभावकारी पहल नहुनुले नागरिकमा असन्तुष्टि बढाएको छ।
रातको समयमा बजार क्षेत्रको सुरक्षा, पैदलयात्रीको सहज आवागमन तथा सवारीसाधनको सुरक्षित सञ्चालनका लागि सडक बत्तीको महत्वपूर्ण भूमिका हुन्छ। तर, नागरिकको सुरक्षासँग प्रत्यक्ष जोडिएको सार्वजनिक बत्ती नै लामो समयसम्म बन्द रहँदा नगरपालिकाको ‘स्मार्ट’ र व्यवस्थित शहर बनाउने दाबी व्यवहारमा कहाँ देखिन्छ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो।

अझ गम्भीर विषय त के छ भने, नगर प्रमुखकै व्यवसायिक प्रतिष्ठान अगाडि रहेको सार्वजनिक हाइमास्ट लाइटको अवस्था यस्तो छ भने नगरका टाढा तथा भित्री बस्तीमा रहेका सडक बत्तीको अवस्था कस्तो होला? स्थानीयको प्रश्न छ।
सार्वजनिक संरचना निर्माण गर्नु मात्रै स्थानीय सरकारको जिम्मेवारी होइन। त्यसको नियमित अनुगमन, मर्मतसम्भार र प्रभावकारी सञ्चालन पनि उत्तिकै महत्वपूर्ण जिम्मेवारी हो। लाखौँ रुपैयाँ खर्च गरेर जडान गरिएका संरचना बिग्रिएपछि महिनौँसम्म बेवास्ता गरिनु जनताको करको सम्मान होइन।
स्थानीय सरकार जनताको घरदैलोको सरकार हो। त्यसैले नगरपालिकाले ‘कहाँ बत्ती छ?’ भन्दा पनि ‘कहाँ बत्ती बलिरहेको छैन?’ भनेर खोज्ने अनुगमन प्रणाली विकास गर्न आवश्यक छ। मर्मत कसले गर्ने हो? मर्मतका लागि बजेट र प्रक्रिया के छ? अनि नागरिकले अझै कति समय अँध्यारोमै बस्नुपर्ने हो?
लम्की बजारलाई उज्यालो बनाउने बत्ती आफैं अँध्यारोमा रहनु केवल एउटा बल्ब वा हाइमास्ट बिग्रिएको विषय होइन; यो सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी, नगरपालिकाको अनुगमन क्षमता र जनताप्रतिको जवाफदेहिताको परीक्षा पनि हो।
अब नगरपालिकाले मौनता होइन, कारण, जिम्मेवारी र समाधानसहितको जवाफ दिनुपर्छ। जनताको करबाट बनेको पूर्वाधार जनताकै सेवामा चल्नुपर्छ, अँध्यारोमा सजिएर होइन, उज्यालो दिएर ।


भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७