चाडपर्वलाई लक्षित गर्दै लम्कीचुहा उद्योग वाणिज्य संघ सक्रिय, शान्ति–सुरक्षा र बजार व्यवस्थापनमा सरोकारवालाबीच छलफल

Spread the love

चाडपर्वलाई लक्षित गर्दै लम्कीचुहा उद्योग वाणिज्य संघ सक्रिय, शान्ति–सुरक्षा र बजार व्यवस्थापनमा सरोकारवालाबीच छलफल

लम्की  चाडपर्व नजिकिँदै गर्दा लम्कीचुहा क्षेत्रको शान्ति–सुरक्षा, बजार व्यवस्थापन, सडक तथा पार्किङ व्यवस्थापन र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा सरोकारवालाबीच छलफल गरिएको छ।

लम्कीचुहा उद्योग वाणिज्य संघको समन्वयमा आयोजित छलफलमा इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख कविराज रोकाया, सशस्त्र प्रहरी बल डुडेझारीका प्रतिनिधि, लम्की ट्राफिक प्रहरीका प्रतिनिधि तथा उद्योग वाणिज्य संघका पदाधिकारी एवं प्रतिनिधिहरू सहभागी थिए।

चाडपर्वको समयमा बजारमा उपभोक्ताको चापसँगै व्यापारिक गतिविधि बढ्ने, सडकमा सवारीसाधनको आवागमन बाक्लिने तथा पार्किङको समस्या बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै बजारलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उपायबारे छलफल गरिएको हो।

छलफलमा बजार क्षेत्रमा हुन सक्ने अव्यवस्थित पार्किङ, सडक अतिक्रमण, सवारी चाप, भीडभाड तथा सुरक्षा चुनौतीलाई समयमै व्यवस्थापन गर्न सुरक्षा निकाय र व्यवसायीबीच प्रभावकारी समन्वय गर्नुपर्ने उद्योग वाणिज्य संघका अध्यक्ष दिपक कुमार तिमिल्सेनाले बताए। चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटना तथा दुर्घटना न्यूनीकरणका लागि सुरक्षा निगरानी र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको बताइएको छ।

त्यस्तै, बजार क्षेत्रमा व्यवसाय सञ्चालन गर्दा सडक तथा सार्वजनिक स्थानको प्रयोगलाई व्यवस्थित बनाउने, ग्राहक तथा पैदलयात्रीलाई आवतजावतमा सहजता प्रदान गर्ने र व्यवसायीहरूले समेत सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहयोग हुने इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख कविराज रोकायले बताए ।

चाडपर्व व्यापार–व्यवसाय विस्तारको महत्वपूर्ण समय मात्र नभई बजारमा नागरिकको चहलपहल अत्यधिक बढ्ने अवधि भएकाले सुरक्षा र व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्नेमा सहभागीहरूको जोड थियो । लम्कीचुहा उद्योग वाणिज्य संघले व्यवसायी, प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायबीचको समन्वय र सहकार्यलाई अझ मजबुत बनाउँदै चाडपर्वको समयमा लम्कीचुहा क्षेत्रलाई शान्त, सुरक्षित र व्यवस्थित बजारका रूपमा सञ्चालन गर्ने उद्देश्यले छलफल अघि बढाएको जनाएको छ।

चाडपर्वको समयमा बजार व्यवस्थापनसँगै व्यवसायीको सुरक्षा, उपभोक्ताको सहज आवागमन र सडक अनुशासन कायम राख्ने विषयलाई प्राथमिकतामा राखेर आवश्यक सहकार्य गर्ने वातावरण निर्माण गर्नु छलफलको मुख्य उद्देश्य रहेको अध्यक्ष दिपक तिमिल्सेनाले बताए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *