
कैलालीको बौनियाबाट ‘रारा डिल्स’ सञ्चालनमा, एउटै एपबाट सम्पूर्ण सपिङ सुविधा दिने
बौनिया – कैलालीको बर्दगोरिया गाउँपालिका–२, बौनियामा कार्यालय स्थापना गरी दुई युवाले करिब १६ लाख रुपैयाँको लगानीमा ‘रारा डिल्स’ नामक अनलाइन सपिङ प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेका छन्। एउटै एपबाट विभिन्न प्रकारका सम्पूर्ण सामान खरिद गर्न सकिने अवधारणासहित सुरु गरिएको यो प्लेटफर्मले अनलाइन सपिङलाई थप सहज बनाउने लक्ष्य लिएको छ।
रारा डिल्स प्राइभेट लिमिटेडको कार्यालय उद्घाटन आज एक औपचारिक कार्यक्रमबीच गरिएको थियो। कम्पनीका सिइओ दीप दर्शन कुँवर र डाइरेक्टर दिपेन्द्र शाहीको पहलमा सञ्चालनमा ल्याइएको ‘रारा डिल्स’ मार्फत ग्राहकले आवश्यक पर्ने विभिन्न सामानहरू एउटै डिजिटल प्लेटफर्मबाट खोजी तथा खरिद गर्न सक्ने व्यवस्था मिलाइने कम्पनीले जनाएको छ।
पछिल्लो समय अनलाइनमार्फत सामान खरिद गर्ने क्रम बढिरहेका बेला स्थानीय स्तरबाटै आधुनिक प्रविधिको प्रयोग गरी सपिङ प्लेटफर्म सञ्चालनमा ल्याउने उद्देश्यले ‘रारा डिल्स’ सुरु गरिएको डाइरेक्टर दिपेन्द्र शाहीले बताए। उनका अनुसार नागरिकलाई घरमै बसेर सहज रूपमा आवश्यक सामान खरिद गर्न सक्ने वातावरण निर्माण गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको बताए।
कम्पनीका अनुसार ‘रारा डिल्स’ एप एक हप्ताभित्र एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा सार्वजनिक गर्ने तयारी गरिएको छ। एप सार्वजनिक भएपछि ग्राहकले मोबाइलबाटै विभिन्न सामग्री हेर्न, छनोट गर्न र खरिद गर्न सक्नेछन्।
दुई युवाले स्थानीय स्तरबाट सुरु गरेको यो व्यवसायले डिजिटल कारोबार, अनलाइन व्यापार तथा रोजगारी सिर्जनामा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। एउटै प्लेटफर्ममा विभिन्न प्रकारका सामान उपलब्ध गराउने अवधारणाले ग्राहकलाई छुट्टाछुट्टै एप वा पसल खोज्नुपर्ने झन्झट कम गर्ने कम्पनीको विश्वास छ।
डाइरेक्टर शाहीका अनुसार नागरिकलाई सेवा–सुविधा सहज रूपमा उपलब्ध गराउने र समयको बचत गराउने उद्देश्यले प्रविधिमा आधारित यो व्यवसाय सुरु गरिएको हो। ग्राहकको आवश्यकता र सुविधालाई प्राथमिकतामा राखेर सेवा विस्तार गर्दै लैजाने योजना कम्पनीले बनाएको छ।
१६ लाख रुपैयाँको प्रारम्भिक लगानीमा सुरु भएको ‘रारा डिल्स’ ले कैलालीको बौनियाबाट आफ्नो सेवा विस्तार गर्दै डिजिटल बजारमा नयाँ सम्भावना सिर्जना गर्ने लक्ष्य लिएको छ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७