विपत्तिमा देखियो सहकारीको मानवीयता : लम्की साना किसानको सदस्य र संस्थाबाट १ लाख ५ हजार सहयोग

Spread the love

विपत्तिमा देखियो सहकारीको मानवीयता : लम्की साना किसानको सदस्य र संस्थाबाट १ लाख ५ हजार सहयोग

लम्की – सहकारी भनेको आफ्ना सदस्यका लागि मात्रै होइन, समाजका लागि पनि हाे भन्ने उदाहरण बन्यो साना किसान कृषि सहकारी संस्था लिमिटेड । नजिकिँदै गरेको तिजको चाडमा हुने अनावश्यक खर्च कटौती गर्दै साना किसान कृषि सहकारी संस्था लिमिटेड लम्कीचुहा ०२ भल्का, कैलालीले बाढीपीडितका लागि मानवीय सहयोग जुटाएको छ।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले सहकारीका सदस्यहरूले व्यक्तिगत रूपमा संकलन गरेको रु. ४८ हजार ५ सय तथा संस्थाको विपद् व्यवस्थापन कोषबाट रु. ५६ हजार ५ सय गरी कुल रु. १ लाख ५ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

सहकारीका सदस्यहरूले चाडपर्वका नाममा हुने अनावश्यक खर्चलाई केही हदसम्म कटौती गरेर विपत्तिमा परेका नागरिकको पीडामा साथ दिने निर्णय गरेका हुन्। व्यक्तिगत सदस्यहरूको सानो–सानो योगदानलाई संस्थाको विपद् व्यवस्थापन कोषसँग जोड्दै गरिएको यो सहयोगले सहकारी केवल बचत तथा ऋण कारोबार गर्ने संस्था मात्र नभई सामाजिक उत्तरदायित्व निर्वाह गर्ने साझा संस्था पनि हो भन्ने सन्देश दिएको छ।

सहकारीले उपलब्ध गराएको विवरणअनुसार सदस्यहरूको व्यक्तिगत सहयोगमा माया कुमारी शाह, सिता विष्ट, दिपिका कुमारी जैसी, आचल देवी जैसी लगायत २६ जना सदस्य सहभागी भएका छन्। सदस्यहरूको व्यक्तिगत सहयोग र संस्थागत कोषबाट प्राप्त रकम गरी रु. १ लाख ५ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको जनाइएको छ।

‘चाडपर्वभन्दा पीडितको पीडा ठूलो’

आज समाजमा सार्वजनिक स्रोत, बजेट र खर्चको पारदर्शितामाथि विभिन्न प्रश्न उठिरहेका बेला, आफ्नो स्रोतबाट, आफ्नै सदस्यको सहमतिमा र विपद्को समयमा पीडितका लागि सहयोग गर्ने यस्तो अभ्यासले सामाजिक उत्तरदायित्वको एउटा सकारात्मक बाटो देखाएको छ। तिज नजिकिँदै गर्दा गरगहना, भोजभतेर र अन्य अनावश्यक खर्चमा ठूलो रकम खर्च हुने गरेको अवस्थामा त्यसलाई केही कटौती गरेर विपत्तिमा परेका नागरिकका लागि सहयोग गर्नु आफैंमा उदाहरणीय कार्य भएको स्थानीय स्तरमा चर्चा हुन थालेको छ।

विपत्तिको समयमा पीडितको आँसु पुछ्न सरकारको मात्रै मुख ताकेर हुँदैन, समाजका हरेक व्यक्ति र संस्थाले आफ्नो ठाउँबाट हातेमालो गर्नुपर्छ भन्ने भावनाका साथ सहकारीका सदस्यहरूले गरेको यो सहयोगले सामाजिक एकताको सकारात्मक सन्देश दिएको छ।

सरकारी तथा सार्वजनिक निकायबाट हुने खर्च र स्रोत व्यवस्थापनबारे समय–समयमा प्रश्न उठिरहने भए पनि, गरिब, विपन्न, पीडित नागरिक र आफ्ना सदस्यको हितलाई प्राथमिकतामा राखेर साना किसान कृषि सहकारीले सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतार्न खोजेको देखिन्छ।

विपत्तिमा परेको नागरिकको पीडालाई आफ्नै पीडा सम्झेर चाडपर्वको खर्च कटौती गरी राहत कोषमा सहयोग गर्ने सदस्यहरू सम्मानका पात्र बनेका छन्। उनीहरूको यो कदमले ‘सहकारी भनेको पैसा जम्मा गर्ने र ऋण दिने संस्था मात्र होइन, संकटका बेला समाजको सहारा बन्ने संस्था पनि हो’ भन्ने उदाहरण प्रस्तुत गरेको छ।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *