नगर उद्यान मोहनलाल सामुदायिक वनको ८औँ वार्षिक साधारण सभा सम्पन्न

Spread the love

नगर उद्यान मोहनलाल सामुदायिक वनको ८औँ वार्षिक साधारण सभा सम्पन्न

लम्की – कैलालीको लम्कीचुहा नगरपालिका ०२, बघनियाँमा रहेको नगर उद्यान मोहनलाल सामुदायिक वन उपभोक्ता समूहको ८ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार समूहको कार्यालय बघनियाँमा सम्पन्न साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, आर्थिक वर्ष २०८२/०८३ को आय व्यय विवरण तथा आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय व्यय विवरण प्रस्तुत गरिएको थियो ।
समूहले आर्थिक वर्ष २०८२/०८३ मा २८ लाख १५ हजार रुपैयाँ बराबरको आम्दानी गरेको थियो भने आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि भने ७६ लाख २८ हजार रुपैयाँ बराबरको आय व्यय अनुमान गरिएको छ ।
साधारण सभामा प्रस्तुत प्रतिवेदनमाथि धारणा राख्दै उपभोक्ताहरूले समूहलाई थप सुदृढ र सबल बनाउन अनावश्यक खर्च कटौती गर्दै सुशासन र पारदर्शितालाई प्राथमिकता दिनुपर्ने बताएका थिए । उनीहरूले लामो समयदेखि चर्चामा रहेको नगर उद्यान निर्माणको कामलाई पनि छिटो अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

समूहका अध्यक्ष बखत बहादुर विष्टले उपभोक्तालाई सम्बोधन गर्दै संस्थाको कामलाई सुशासन, पारदर्शिता र व्यवस्थित बनाउन नियमित रूपमा १७ वटा बैठक सम्पन्न गरिएको बताए । उनले नगर उद्यान निर्माणका लागि नगरपालिकाले बजेट विनियोजन गरिसकेको र उद्यानभित्र आवश्यक संरचना निर्माणका लागि प्रदेश सरकारसँग समेत बजेट माग गरिएको जानकारी दिए ।

२०५५ सालमा स्थापना भएको समूहले वन संरक्षणसँगै उपभोक्ताको जीविकोपार्जनमा सहयोग गर्दै आएको अध्यक्ष विष्टले बताए । आगामी दिनमा पनि वन संरक्षण, उपभोक्ताको हित र सामुदायिक विकासका कामलाई निरन्तरता दिने उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका–२ का वडा अध्यक्ष सन्तोष कुमार ओलीले सामुदायिक वनले वन संरक्षणका क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गर्दै नगर उद्यान निर्माणको काम छिट्टै सञ्चालन गरिने बताए । उनले वडाभित्र विभिन्न विकास निर्माणका काम सञ्चालन भइरहेको जानकारी दिँदै छुटेका स्थानमा आवश्यकताअनुसार घेरापर्खाल निर्माण गरिने बताए ।

त्यस्तै, विशिष्ट अतिथि लम्कीचुहा नगरपालिका–५ का वडा अध्यक्ष माया विष्टले सामूहिक प्रयासबाट नै विभिन्न संघसंस्था र समुदायले सफलता हासिल गर्न सक्ने बताइन् । उनले सामुदायिक वन समूहलाई अझै सबल, सुदृढ र प्रभावकारी बनाउन सबै उपभोक्ताको सामूहिक भूमिका आवश्यक रहेको बताइन् ।
८ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा करिब ३ सय उपभोक्ताको सहभागिता रहेको थियो । सभाले प्रस्तुत गरिएका प्रतिवेदनहरूलाई बहुमतका साथ पारित गरेको थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *