भोटेकोशी बाढीको पीडामा सुन्दरपुरको सहारा: मानवीय सहयोगमा जुट्यो १५ हजार ५५६ रुपैयाँ

Spread the love

भोटेकोशी बाढीको पीडामा सुन्दरपुरको सहारा: मानवीय सहयोगमा जुट्यो १५ हजार ५५६ रुपैयाँ

लम्की – प्राकृतिक विपद्ले निम्त्याएको पीडामा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सुन्दरपुर सामुदायिक विपद् व्यवस्थापन समिति, मोहन्याल गाउँपालिका–३, फलेबिसौनाले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारको राहतका लागि १५ हजार ५५६ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

M-RED परियोजनाअन्तर्गत सञ्चालित गतिविधिसँग जोडिएको सुन्दरपुर सामुदायिक विपद् व्यवस्थापन समितिले विपद्का कारण जनधन तथा भौतिक संरचनामा क्षति पुगेका नागरिकलाई राहत तथा सहयोगको आवश्यकता रहेको भन्दै मानवीय सहयोग अभियान सञ्चालन गरेको हो।

समितिका पदाधिकारी तथा सदस्यहरूले व्यक्तिगत रूपमा रकम संकलन गरी उक्त सहयोग रकम जुटाएका हुन्। संस्थाको कोषबाट मात्र नभई समिति आबद्ध व्यक्तिहरूले आ–आफ्नो क्षमताअनुसार व्यक्तिगत रकम उपलब्ध गराएर विपद् प्रभावितका लागि सहयोग जुटाउनु मानवीय भावना र सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा लिइएको छ।

भोटेकोशी क्षेत्रमा आएको बाढीले जनजीवन प्रभावित बनाएको अवस्थामा देशको एउटा कुनामा रहेका पीडित नागरिकको दुःखमा अर्को कुनाको समुदायले समेत साथ दिनुपर्छ भन्ने भावनाका साथ सहयोग संकलन गरिएको समितिले जनाएको छ। विपद् कुनै व्यक्ति, परिवार वा समुदायको मात्रै समस्या नभई सबैको साझा सरोकारको विषय भएकाले संकटको समयमा सकेको सहयोग गर्नु आवश्यक रहेको समितिको भनाइ छ।

सहयोग संकलन तथा अभियानलाई व्यवस्थित बनाउन भरत कठायतले समेत सहजीकरण गरेका थिए। स्थानीयस्तरमा विपद् व्यवस्थापन, जनचेतना तथा सामाजिक सहयोगका गतिविधिमा सक्रिय रहँदै आएको समितिले भोटेकोशी बाढीपीडितका लागि समेत आफ्नो तर्फबाट सक्दो सहयोग उपलब्ध गराएको हो समितिको अभिलेखअनुसार सहयोग अभियानमा अध्यक्ष खड्गराज देवकोटासहित पदाधिकारी तथा सदस्यहरूले व्यक्तिगत रूपमा रकम उपलब्ध गराएका छन्। उनीहरूले विपद्को समयमा पीडित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग पुग्ने अपेक्षासहित आफ्नो तर्फबाट आर्थिक योगदान गरेका हुन्।

सुन्दरपुर सामुदायिक विपद् व्यवस्थापन समितिको यो पहलले विपद्को समयमा मानवीय सहयोगको सीमा भूगोलले निर्धारण गर्दैन भन्ने सन्देशसमेत दिएको छ। स्थानीय समुदायबाट संकलित सानो–सानो सहयोगले विपद्मा परेका परिवारलाई राहतको अनुभूति गराउन सक्ने भएकाले यस्ता सामाजिक अभियानले आपसी सहयोग, सहकार्य र मानवीय एकतालाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणमा समेत सहयोग आवश्यक पर्ने भएकाले सरकार, स्थानीय तह, संघसंस्था तथा नागरिक समाज सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने देखिन्छ।

 

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *